कित्ताकाट ठप्प हुँदा पनि घरजग्गा किनबेच लयमै, ६ अर्ब राजश्व संकलन
काठमाडौं । असार महिनाभरी देशभर कित्ताकाट ठप्प हुँदा पनि घरजग्गा किनबेचमा त्यति ठूलो असर देखिएको छैन ।
एक महिनामा देशभरीका मालपोत कार्यालयबाट ४७ हजार घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
नयाँ भूउपयोग नियमावली २०७९ अनुसार कित्ताकाटमा रोकावट नहुँदै वैशाखमा ४४ हजार ८०३ र जेठमा ५४ हजार ५१५ घरजग्गा किनबेच भएका थिए । वैशाख र जेठको तथ्यांकको आधारमा असार महिनाको कारोबार त्यति निराशाजनक नरहेको घरजग्गा व्यवसायी बताउँछन् ।
तर, घरजग्गा व्यवसायमा चरम तरलता अभाव, बढ्दो ब्याजदर, चुनावी वर्ष लगायतको प्रभाव भने देखिएको छ । ०७८ फागुनमा देशभरी ७४ हजार ३६, चैतमा ७० हजार ८३० घरजग्गा किनबेच भएकोमा नयाँ वर्ष सुरु भएसँगै किनबेच पनि सुस्ताउँदै गइरहेको देखिन्छ ।
असारमा कित्ताकाट ठप्प भएपछि देशभरी ३७ हजार २६८ मात्र कित्ताकाट भएको देखिन्छ । जबकी, वैशाखमा एक लाख ९ हजार र जेठमा एक लाख २३ हजार कित्ताकाट भएको थियो ।
चालु आवकै कुरा गर्दा, साउनमा एक लाख ६६ हजार, भदौमा एक लाख ४८ हजार, असोजमा एक लाख २८ हजार, कात्तिकमा एक लाख ११ हजार, मंसिरमा एक लाख ५८ हजार, पुसमा एक लाख ६३ हजार, माघमा एक लाख ३५ हजार, फागुनमा एक लाख ६९ हजार र चैतमा एक लाख ७२ हजार कित्ताकाट भएको विभागको तथ्यांक छ ।
तर, २३ जेठमा भूउपयोग नियमावली २०७९ जारी भएपछि भूमि मन्त्रालयले २७ जेठमा स्थानीय तहले कृषि र गैरकृषि भूमि भनेर वर्गिकरण गरी सिफारिस नदिएसम्म कित्ताकाट नगर्न मालपोत, नापी कार्यालयलाई परिपत्र गरेपछि असार सुरु भएसँगै देशभरी कित्ताकाट ठप्प छ ।
सरकारले कृषि तथा गैरकृषि भूमि वर्गिकरणका लागि स्थानीय भूउपयोग परिषदलाई अधिकार दिएको छ । तर, महिना दिन वितिसक्दा पनि स्थानीय भूउपयोग परिषदले अझै जग्गाको वर्गिकरण गर्न सकेका छैनन् । स्थानीय तहले जग्गाको वर्गिकरण नगर्दासम्म कित्ताकाट ठप्प नै हुने देखिन्छ ।
असारमा ६ अर्ब राजश्व संकलन
असार महिनमा घरजग्गा किनबेच घटेपछि राजश्व असुली भने बढेको छ । असारमा देशभरका मालपोत कार्यालयले ६ अर्ब ११ करोड ३४ लाख रुपैयाँ राजश्व संकलन गरेका छन् ।
जबकी, कित्ताकाट ठप्प हुनुभन्दा अघि जेठ महिनामा ४ अर्ब २४ करोड ५९ लाख र वैशाख महिनामा ४ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
असारमा काठमाडौं उपत्यका, चितवन, हेटौंडालगायत शहरी क्षेत्रमा कारोबार बढेपछि मालपोत राजश्व बढी उठेको हो ।
असारमा ललितपुरको लगनखेल मालपोतबाट ७३ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन भएको छ भने भत्तपुरबाट ३९ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
उपत्यकाका तीन जिल्लामा रहेका ९ वटा मालपोत कार्यालयबाट मात्रै २ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, काभ्रेबाट १० करोड, मकवानपुरबाट ११ करोड, चितवनका चारवटा मालपोत कार्यालयबाट २५ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
असारमा संकलन भएको कुल राजश्वमध्ये रजिष्ट्रेसन दस्तुर ३ अर्ब ६० करोड र पुँजीगत लाभकर १ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ । सेवा शुल्कवापत २६ करोड रुपैयाँ संकलन भएको छ ।
असारमा पनि कारोबारमा सुनसरी नै अगाडि
असार महिनामा पनि सुनसरीको इनरुवा मालपोत कार्यालयले सबैभन्दा बढी २६ सय ३३ घरजग्गा किनबेच गराउँदै पहिलो नम्बरमा रहेको छ । अघिल्ला महिनाहरुमा जहिल्यै पहिलो वा दोस्रो बन्दै आइरहेको मोरङको बेलवारी मालपोतले असारमा १६ सय ३२ घरजग्गा किनबेच गराउँदै चौथो बनेको छ भने धनुषाको जनकपुर मालपोतले २१ सय ५९ घरजग्गा किनबेच गराउँदै दोस्रो बनेको छ ।
ललितपुरको लगनखेल मालपोत कार्यालय १७ सय ५६ घरजग्गा किनबेच गर्दै तेस्रो बनेको छ । भक्तपुर मालपोत १६ सय ७६ घरजग्गा किनबेच गराउँदै चौथो बनेको छ भने झापाको भद्रपुर मालपोत कार्यालय १६ सय ४७ घरजग्गा किनबेच गराउँदै पाँचौं नम्बरमा परेको छ ।
मोरङकै बिराटनगरबाट १ हजार ७३, सप्तरीको राजविराटबाट ११ सय ३६, काठमाडौंको कलंकीबाट १ हजार ७९, मकवानपुरबाट एक हजार २३, बाराको कलैयाबाट १४ सय १५, पर्साबाट १४ सय ९५, चितवनबाट ११ सय २५, बाँकेबाट १२ सय ७४ घरजग्गा किनबेच भएका छन् । नेपाल होम्स बाट
Comments
There are no comments yet
Leave a Comment